Last modified on 9 अक्टूबर 2018, at 14:59

भीडबाट निस्किएपछि / कुन्ता शर्मा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:59, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

 
सानो समय अघिसम्म
भनौँ भीड अजङको हुनुअघिसम्म
म पनि त्यही थिएँ
भीड हुनुअघिको
सानो जमातभित्रका आत्मीयहरू
उपेक्षापूर्वक बिस्तारै किनारा लाग्दै थिए
पुराना परिचित अनुहारहरू
वृत्तबाहिर धकेलिँदै थिए
भीड अजङको बन्यो हेर्दाहेर्दै
मैले आफूलाई पनि पाएँ भीडबाहिर ।

श्यामप्रसाद, रामप्रसाद र सूर्यमायाहरू
इन्द्र, वीरेन्द्र, सुरेन्द्र
सङ्गीता, सुनीता, लक्ष्मी, सरस्वती,
राधा र सीताहरू
उहिलेका, पहिलेका, अहिलेका रातापीराहरू
कुटिल आँखाले हेर्दै थिए
मुख बिच्क्याउँदै थिए
म बाहिरिनुको प्रसन्नतामा
ताली पड्काउँदै थिए
म साँच्चै नै धकेलिइसकेकी थिएँ
भीडको वृत्तबाहिर ।

ती सबै भीडमा नै छन् अहिले पनि
त्यही भीडमा जहाँ म वर्षौँ हराएँ
जहाँ मेरो शीतल संसार हरायो
जहाँ मेरा तोतेबोलीहरू हराए
जहाँ मेरा रहरहरू हराए
जहाँ मेरा कोमल सपनाहरू हराए ।

अहिले पाखामा बसेर
नियालिरहेको छु क्रुद्ध भीडलाई
यसको उत्तेजित र उद्दण्ड स्वरलाई
यसको दिशाहीनतालाई, अकर्मण्यतालाई
यसको अराजकता अनि गन्तव्यहीनतालाई
अगाडि रहेको कुर्सीमा पुग्ने होडलाई
धकेलाधकेललाई, उछिनपाछिनलाई
अनि षड्यन्त्रहरूलाई ।

अझ राम्ररी नियालिरहेछु भीडलाई
पछाडिकाहरू छुरी लुकाइरहेका छन्
धस्न अगिल्ला पङ्क्तिकाहरूलाई
अगाडिकाहरू दाउ हेरिरहेका छन्
लडाउन पछाडिकाहरूलाई
म सबैसबै हेरिरहेछु खिन्न मनले
भीडबाट निकै पर बसेर ।

यिनै वृत्तमा म वर्षौँ हराएँ
पसिना र रगतका धाराहरू बगाएँ
आखिर जब कालरात्रि सकियो
एउटा गोल चौतारी भेटियो
भीड अजङको भयो
भीडमा नयाँनयाँ अनुहार देखिए
चारै दिशाहरूबाट खनिए
ती म्याराथुन दौडका धावकहरूजस्ता
ङ्याक्न तयार हुन लागे
भीडमा रहेका पुरानाहरूलाई
अथवा हुत्याएर किनारामा फ्याँकिएकाहरूलाई
अथवा भीडभित्रै षड्यन्त्रपूर्वक कुल्चिएकाहरूलाई ।

म स्मरण गर्छु भीडहरूको
धकेलाधकेलको उछिनपाछिनको
छिनाझपटीको, विनागन्तव्यको यात्राको
अनि बिस्तारै सास फेर्छु आश्वस्तताको ।
भीडबाट निस्किएपछि
अथवा हुत्याएर बाहिर फ्याँकिएपछि
एकलासका व्यूहहरूमा बसेको
मानिसजस्तो म स्मरण गर्छु
भीडभित्र पस्ताको अनुभव
भीडबाट बाहिर निस्कँदाको अनुभव
हल्लाखल्लाको अनुभव
मौन र स्तब्धताको अनुभव
यी हुन त एकदमै बेग्लाबेग्लै छन्
तर समग्रमा उत्तिकै रोमाञ्चकारी छन्
उचाल्ने–पछार्ने कलाले युक्त मानिसहरू
तान्ने–घचेट्ने सीपले युक्त मानिसहरू
क्रिस्चिन किलरको रूमालजस्तो
सत्ताको छिनाझपटीका दृश्यहरूको अनुभव ।

अहिले के हुँदै छ कुन्नि त्यतापट्टि
तर अर्कमण्य र निस्क्रिय छैन म पनि
नयाँ परिवेशमा
बिरूवा वरपरका झारहरू उखेल्दै छु
पातमा लागेका विनाशी कीराहरू
झार्न, मार्न सघाउँदै छु
नयाँनयाँ अनुभव र ज्ञान बटुल्दै छु
अग्रजहरूबाट, अनुयायीहरूबाट
अनि एउटा लामो अनि
कठिन यात्राका सहयोद्धाहरूबाट
अहिले झन्नैझन्नै बिर्सन लागेको छु
म पनि कुनै बेला
त्यो भीडको एउटा अंश भएको कुरा
लामो समयसम्म
म पनि त्यही भीडमा
समाहत भएको यथार्थ ।