घँगारुको लौरो टेकेर
कोसीकिनारमा उभिएकी हजुरआमा
उघाएर अँजुलीभरि पानी
भन्छिन्–
फेरिएनन् यी रुखका पातहरु
सङ्लिएन सप्तकोसी
भेटिएनन् चरा ब्यूँझनुअघि ओछ्यानबाटै हराएकाहरु ।
बाबै !
मक्किएको डोरीझैँ चुँडियो आस्थाको तोरण
चैते हुन्डरीले झैँ भत्कायो विश्वासको छानो
माहुरी आइपुग्नु अगावै सुक्यो फूलको रस
साँझको घामसँग गएका नातिनातिना फर्किएनन् आजसम्म ।
तान्दै लामो सास
भन्छिन्–
उफ !
ताराका लामसँगै पल्टिए इतिहासका पाना
फेरिए लोककथा, दन्त्यकथा
अहँ ! फेरिएनन्
आँगनकै ऋतुगीतहरु ।
सन्तान हराएको दलानमा बसेर
सुर्तीको लामो सर्को तान्दै भन्छिन्–
सँघार लिप्ने रातोमाटामा छोराको रङ छ
तुलसीमठमा चढाउने पानीमा छोरीको रङ छ ।
पूर्णचन्द्रमुनि उभिएर भन्छिन्–
बुझिराखेस् बाबै !
नफेरिन्जेल यो ऋतुगीत
रोइरहनेछन् फूल, चरा, झन्डा र माटो ।
छचल्किरहनेछ सप्तकोसी
सम्झिराखेस् बाबै !
आँखामा छचल्किरहनेछ सप्तकोसी ।