१
म आजकल आगो खेल्छु
कि सास पसेको अलिकति घाम ओकलेर
या यथार्थदेखि बसाइ सर्नु, अलिक पर
कोही बेला आगन्तुकहरूलाई हाँस्छु
जिन्दगी एउटा नदी हिमालदेखि सागरसम्म
म चुहिन्छु लाचारीहरूसित
ओछ्यानमा सित्तै झरेको वीर्यहरूसित
म त दुःस्वप्नहरू जस्तै पसिन्छ।
२
... हाम्रो पहिलो भेट भएको रात
हिउँदका स्याउलाहरू सल्काएर तापेको
हामीले अर्थहरू सब सल्काइदिएछौँ।
तिमीलाई झुण्डाएर मारेको
मैले खबर पाइनँ
र, म यहाँ आएको केही दिन जराथ्रुस्त्रको नाममा
भट्टी लगाए । फेरि पनि अर्को चियर्स ।
हो, यहाँबाट ईथाका धेरै टाढो पर्छ ।
३
आजकल क्रान्तिको बोलवाला छ यहाँ
चोकबजारमा आजकल विद्रोहको कुरा हुन्छ ।
म टाँसिन्छु पोस्टर जस्तै चोकबजारमा
सिनेमाका पर्चाहरूसित ।
म विद्रोह टाँसिन्छु लिपिएर भित्तामा
दर्के पानी लिपिन्छु भिजिन्छु म त एक्लै भित्तामा ।
४
इतिहासले हामीलाई चुट्यो, योगेष !
बर्लिनको काँडेतारले बारेर चुट्यो हामीलाई
झुत्रा लुगाहरू फोएर सिस्नु र पानी लाएर
निर्वासित गर्यो।
आउने बेला एडिनवर्गको गेटमा चढाउँदा
गोली लागेर म मरेको थिएँ, थाह छैन।
अझै टट्टाउँछन् ती घाउहरू, आजकल त
गाढा भएर झन् दुख्छन्।
...पहाडहरू व्यर्थै उठेका यी पहाडहरू, योगेष।
अब त यही उकालीओराली जिन्दगी भइसकेछ।
थाह नपाई म त दनाइदक आइमाईहरूको
काखी गनाइसकेछ।
म त जिन्दगी अब चिसो अगेनाको दन्त्य कथाहरू भइसकेछु ।
५
रेस्टुराँमा बसेर आजकल हिजोका खबरहरू पढ्छु
सुन्छु निर्माणका हाम्रा सबै कथाहरू
सृजनाका जम्मै गीतहरू, योगेष।
कोबाल्टको कुरा सुनेर छट्पटिन्छन्
कि ओठ सुकाएर सुक्छन्।
म आजकल जिन्दगी अर्थको केही अर्थ छैन भन्छु
म आजकल जिन्दगी सुसमाचारहरू पनि सुनाउनु छैन भन्छु।
म जहाँ छु कोही पनि आइपुगिसकेको छैनन्
म आफै पनि आइपुगिसकेको छैन।
आजकल यहाँ मान्छेहरू केही होइनन्
आकाश पनि केही होइन छैन रहेछ।
हत्या केही होइन।
अनुहारहरू मात्र पीडित संवेदनाहरू
म यसरी हेरिँदैछु, योगेष
हो, यहाँबाट ईथाबाट धेरै टाढो पर्छ ।