निर्वैयक्तिक हुनुको पनि एउटा अन्तराल हुन्छ;
यता कठिन सपनाहरू कि उता जीवनका गोरेटाहरू
प्रकाशको किनारै-किनार गइरहेका अनेकौँ पाइतालाहरू
समाउँदै, आफूले भ्याउन नसकेका उचाइ र अग्लाइहरू;
म यसबेला कुनै बिम्व खोजूँ
तिमी यसबेला कुनै बिम्व खोज;
हत्केलाबाट चुहुन्जेल स्पर्श खोजिरहेर बाँचेका क्षणहरू
म र तिमी, तिमी म;
खेतको डिलमा, भर्खरै जहाँ बाली काटिएको माटो गहनाउँछ ।
अँगेना वा धुनीमा सल्काएको तन्नेरी आगो मसित ब्यूँझिरहन्छ
तापले दिग्गज हुन खोजिरहन्छ
धेरै दिनपछि असमर्थताको कुरा
आजको असमर्थताको कुरा,
हिसाबमा कसैको भूल छैन, तिमी पनि त्यस्तै भन्छौ;
यता मेरा सपना पराजित छन्, म भन्छु, जुन कुरा तिमी भन्दैनौ ।
एउटा अग्नि पराजित छ, कि जसले सल्काउन पाउँदैन
एउटा अग्नि पराजित छ, कि जसले सल्किन पाउँदैन ।
अग्नि म हुँ, सधैँ समिधा खोज्छु
समिधा नीति हो, बालिन खोज्छौ। यो तान्त्रिक आकाश !
किताब पुछ्ने । यो बच्चा, म सम्झना गर्छु ।
एउटा विप्लवजस्तो लाग्छ किताब,
कि कुनैलाई पढ्न चाहँदिनँ ।
अब आदीश्वरको कुरा गर्दिनँ, किताबको कुरा गर्छु,
एउटा सिङ्गो मर्स्याङ्दी खोला बगेजस्तो हुँदो रहेछ किताब
हामी पर डिलमा हुँदा रहेछौँ,
कुनै नआएका अनुहारहरूका अनुहार खोल्दा रहेछौँ ।
बच्चा / किताब
म / तिमी,
डिल / आगो / फेरि आगो ।
सल्किन हामी बाध्य रहेछौँ ।
निर्वैयक्तिक हुनुको एउटा अन्तराल हुन्छ,
कृपया, तिमी मलाई चुस, सकिदेऊ, म सकिन चाहन्छु,
यहाँ त सूर्य छ / आँखा छ / म छु / तिमी छौ,
खोल्सा छ, आवाज छ/ईश्वर छ अझै;
म बाँकी रहन्छु
आज प्रत्येक व्यक्ति बाँकी रहन्छ ।
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
मेरो घरको पाती लाग्दै लागेन, बगेन पनि भन्दै
मलाई माया गर, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
कथा भन । एउटा कथा भन । एउटा कथा भन । म विरुवा सार्न चाहन्छु ।
अनकन्टार वनको कुहिरो लाग्छ आज पनि मेरा घरका बलेँसीहरूमा ।
नितान्त बलेर मात्रै आपसमा कुरा गरिरहन्छौँ हामी
हवि र अग्नि / अग्नि र हवि,
अपर्याप्त जीवनहरू सँगसँगै बसेका हुन्छन्
तर बल्न सक्दैनन्
त्यसैले खरानी हुन पनि सक्दैनन्,
अनेकौँ दिनका प्रयत्न अपर्याप्त भएका हुन्छन्;
त्यसैले अनेकौँ दिनका शुद्ध अर्चनाहरू पनि अपर्याप्त भए ।
समीप पुगेका थियौँ हवि र अग्निझैँ,
सामीप्य तैपनि अपर्याप्त भए ।
ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो
परको त्यो हामीले भिजेको पर, यति थोरै समयमा
कति बिरानो भएछ ।
पूरा अर्काको भएछ ।
हामी सीमाना बाहिर भएछौँ । सल्किरहेको नदीको किनारा भएछौँ ।
सल्किरहेको अर्चना अझै बाँकी छ ।
अझै बाँकी छन् बिम्वका महलहरू र खण्डहरहरू ।
तर वेदीको तातोको छेउ घरि-घरि पुगिरहँदा पनि पोल्दो रहेछ ।
एउटा सिङ्गो घाम बोकेर हिँडिरहनु पनि गाह्रो हुँदो रहेछ ।
मेरा विरुवाहरू जहिलेसुकै यस्तै घाम र वेदीमा पर्छन्
डढ्न खोज्छन् ।
पात र हाँगाहरू काला झर्न खोज्छन्,
नियान्ता भएर कहिलेकाहीँ चीसो शीतलमा पनि खोज्छन्
तर, नियति बल्नुबाहेक के रह्यो र, तैपनि
सल्किरहेको अर्चना अझ बाँकी छ ।
•