Last modified on 10 मई 2020, at 10:55

प्रत्यावर्तन / अभय श्रेष्ठ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:55, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अभय श्रेष्ठ |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

त्यस दिन पनि
मानिसहरू विष्णुमतीको एकलास किनारमा
गंगालालको सालिकमाथि प्रहार गरिरहेका थिए ।

कसैले नदेख्ने मौका छोपेर
गंगालालको सालिकमाथि उनीहरू हथौडा हानिरहेका थिए
सालिकको हात भाँचेर
टुक्राटुक्रा पारेर कतै फ्याँक्न खोजिरहेका थिए
अथवा बमले नै उडाइदिने हो कि भन्दै
खासखुस सल्लाह गरिरहेका थिए ।

भन्न त उनीहरू नै भनिरहेका थिए
गंगालाल हाम्रो मुटु हो
मुटुबिना मान्छे बाँच्न सक्दैन भनिरहेका थिए
गंगालालको सालिक संरक्षण गर्न
महानगरपालिकालाई ज्ञापनपत्र पनि दिइरहेका थिए
फेरि पनि मानिसहरू आफ्नै मुटु चुँडेर
कतै मिल्काउन पनि खोजिरहेका थिए ।

भन्न त भनिरहेकै थिए
धर्मपथको मुटुबाट जुद्धशमशेरको सालिक ढाल्नुपर्छ
त्यहाँ चार सहिदको सालिक राख्नुपर्छ
तर, जुद्धशमशेरको सालिकलाई
नित्य तीन पटक परिक्रमा गरेर आशिक पनि थापिरहेका थिए ।

त्यस दिन पनि
मानिसहरू जुद्धशमशेरको सालिक ढाल्नुपर्छ भन्दै
जुद्धशमशेरको सालिकलाई परिक्रमा गरिरहेका थिए
र, गंगालालको सालिक संरक्षण गर्न
महानगरपालिकालाई ज्ञापनपत्र दिँदै
गंगालालकै सालिकमाथि प्रहार गरिरहेका थिए ।