कत्ति सुन्ने कथा आमा,
भयो सारै बोर !
कथा भन्नु विरहको
कुरो मात्रै हो र –
जत्ति रात देखेँ मैले
चुकभन्दा कालो,
उत्ति नै त देख्या’ छु नि
बिहान उज्यालो ।
बेला-मौका हाँसेकै म
देख्छु डाँडा-पाखा,
आँसु झार्न मात्रै त ए !
किन होला आँखा –
सुनाउनुस् बरु आमा,
त्यस्तो वीरगाथा,
जसले मेरो साहसकै
उठोस् सगरमाथा !