एउटा भनाइ छ,
बैँसमा स्याल पनि घोर्ले हुन्छ
त्यस्तै थिए मेरा बैँसका दिनहरू
सधै कुत्कुत्याइरहन्छन् तिनले मलाई
मनको कुनामा बसेर
सुरुवाल जस्तो पैन्ट
काउव्वाइ कम्मरपेटी
भ्यास्लिन दलेर कोरेको
बेग्लै हेयर स्टाइल
कमिजको कल्लरभित्र
गलामा हरदम मफलर
यदाकदा कालो गगल्स
देवानन्द स्टाइलको हेराइ र हिँडाइ
रोज साँझपख
हातमा जापानिज ट्रान्जिस्टर झुन्ड्याएर
रेडियो सिलोनका फर्माइस गीतहरू
प्रेमपत्रको रूपमा कसैलाई प्रक्षेपण गर्न
नियमित ओहोर दोहोर गर्थेँ म
भञ्ज्याङ् - टुँडिखेल
टुँडिखेल - भञ्ज्याङ्
ट्रान्जिस्टर र फर्माइस गीत
एउटा सुखद् संवाद जस्तै लाग्थ्यो मलाई
झयालमा आँखा नजुधुञ्जेल
भोल्युम बढाउँदै ओहोर दोहोर गरिरहन्थेँ म
भञ्ज्याङ् - टुँडिखेल
टुँडिखेल - भञ्ज्याङ्
आँखा जुधेपछि मलाई लाग्थ्यो
ट्रान्जिस्टर हैन, म बजिरहेको छु
ट्रान्जिस्टर, गीत र आँखाको स्पर्श
एकाकार भएर विलिन हुन्थ्यो हामीमा
अप्राप्य र अनौठो तृप्तिपछि
एउटा दैनिकीको पटाक्षेप हुन्थ्यो
गाढा र मीठो निद्रामा
अझै पनि छ मेरो कोठामा
एउटा बूढो ट्रान्जिस्टर
त्यो बज्दैन आजभोलि
फ्ल्यास ब्याक तीव्र हुन्छ
त्यसलाई देखेपछि
गोधूली साँझ,
हातमा झुन्डिरहेको ट्रान्जिस्टर
मनै कुत्कुत्याउने गीतहरू
चञ्चल आँखाको त्यो मीठो स्पर्श
सम्झनामा मात्र बाँकी
यिनै मायावी ऊर्जाहरू त हुन्
जसले बचाइरहेछन् मलाई यतिखेर।
•