भाले बास्छ
एकतमासले गाउँमा
अँध्यारोमै गुञ्जन थाल्छ
चुराहरूको आवाज
फैलन थाल्छ
घर, आँगन, र पँधेराहरूमा
ढिकी, जाँतो र गोठहरू
एकाएक ब्यूँझन्छन्
चुराहरूको आवाजले
भान्सा कोठा र
अँगेनाहरू जीवन्त हुन्छन्
चुराहरूको आवाजले
चुराहरूको आवाज
खेतबारीहरूमा
जङ्गलहरूमा
पहाडहरूमा
घाँस दाउराहरूमा
मेलापात र उत्सवहरूमा
कोक्रोमा
च्याहा च्याहा गरिरहेका
नानीहरू
अचानक शान्त हुन्छन्
चुराहरूको आवाजले
काखे नानीहरू
थाहै नपाई बामे सर्छन् र
टुकुटुकु गर्दै हिँड्न थाल्छन्
चुराहरूको आवाजले
जताततै गुञ्जन्छ निरन्तर
चुराहरूको आवाज
र हराभरा पार्छ
समस्त बञ्जर धरती
चुराहरूको आवाज
जब हराउँछ घरबाट
चराहरूको चिरीबिरी हराएको
जङ्गल जस्तै हुन्छ घर
चुराहरूको आवाज
जब हराउँछ गाउँबाट
ताराहरूको चमचम हराएको
आकाश जस्तै हुन्छ गाउँ
कल्पना गरौँ त
एकछिन आँखा चिम्लिएर
बाँच्ने कुनै रहर
बाँकी रहला र
त्यसपछि
यस धरतीमा ?
•