(रुसी भाषाबाट अनूदितप्यालेष्टिनी क्रान्तिका कविमोइन् ब्सिशुको कविता : भावानुवाद)
छोरो छैन कठै ! भनेर घरमा आमा नरोऊ तिमी !
साथी छन् जति बाहिरी जगतमा छोरा यिनै हुन् भनी
सम्झिद्यौ जननी म बस्दछु भई खुशी नजर् बन्दमा
छानो नै घरको जलाईकन हो राखी दिए जेलमा //१//
मेरा झ्याल अगाडि छन् अति कडा काँडा र खम्बाहरू
घुम्छन् आँगनमा सदैव कुरुपी बन्दुक् भिरेकाहरू
सम्झन्छु सहजै दह्रो हृदयले बाचा गरेको पनि
यी मेरा जननी र जन्म-भूमिको सेवा म गर्छु भनी //२//
आँखाबाट दुवै मिलेर सब नै आगो झिकी बन्धन
चाहन्थें जननी हटाउन सधैँ तिम्रा सबै वेदना
बग्छन् नित्य कठै !! रगत् र पसिना प्राणै नजाओस् किन !
हट्ने छैन कदापि आज दुनियाँ वैषम्य सम्याउन //३//
सम्झन्छु कहिले बिहानिपखमा आफ्नै पिताको कथा
जो एक्लै मुटु भित्र आँट बटुली सङ्घर्ष मैदानमा
निस्क्याथे, तर साथमा पछि भए लाखौँ हजारौं नर
यौटा यो उपमा लिएर दिनुयाँ ब्यूँझ्यो कसी कम्मर //४//
साँचो सत्य सफा सदैव रसिलो साझा समाज् को कथा
लेखेथे उनले कठै ! तर यहाँ जम्मै जलाई दिए
केही छैन भरे बुझ्यौ त जननी बेला नयाँ आउला
लेख्ने छन् सबले कथा र कविता छाती फुकाई नयाँ //५//
मारिए कति हो, मरे कति यहाँ ? मर्छन् अरू के कति !
थाहा छैन कठै ! कठै! तर तिमी आँशू नपोखी बस
यी हाम्रा दुखका कथाहरू सबै आमा ! नबिर्सीकन
तन्नेरीहरूलाई स्वच्छ दिलले जम्मै सुनाई दिनू //६//
यौटा मात्र कता कता मुटु यहाँ धड्कन्छ मेरो तर
लाखौँ छन् दुनियाँ सहस्र मुटु छन् कैयौं नयाँ जाँगर
भोलि एक बिहानको किरणमा संसार बदलिन्छ नि!
तिम्रो चित्त हुनेछ शान्त जसरी सौभाग्यकी रोशनी //७//