Last modified on 5 जून 2020, at 11:17

घामका आकाशहरू / ईश्वरवल्लभ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:17, 5 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ईश्वरवल्लभ |अनुवादक= |संग्रह=समान...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु
त्यहाँ मैले गीत गाउन खोजेको छु
त्यो पहिलो उषाको स्पर्शजस्तो
बालकालको आँखाको स्पर्शजस्तो
मैले हेर्न खोजेको हुँ ,
अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु
तैपनि सम्याउन खोजेको हुँ
जहाँ बास बस्छन् केहि देह तथा अवयवहरु
कुरा गर्दै बितेका शहर र आश्रमहरुको
कतै उन्मुक्त हावाले छोइदिन्छन् – त्यसैबेला
मैले तिमीलाई सम्झेको हुँ
ती पर्दाहरुझैँ
त्यहाँ निहारिकामा लागेका
तारले कारचोपी भरिएको देख्छु
ठीक धरातलमा समान्तर
एउटा गलैंचा बुनिरहेको कमला – देख्छु
एउटा माला मूर्ति – देख्छु
मैले हेर्न खोजेको आकाश गंगाहरु
आकाशमा बगून् नबगून्
नदीहरु मैले छुन खोजेका धरतीका बगून् नबगून्
ठूलो अभिलाषाको तोरण अग्लो बाँसमा
झालेमाले उभ्याएर
मैले गोरेटो र सडक हिडेको हुँ
किन यसो गरें मैले सोधेको हुँ
तिमीले पनि उत्तर दिएनौ
मैले पनि उत्तर दिइनँ
उसले पनि उत्तर दिएन
किन ढल्किंदै हिडेझैं गर्छ –यी शहर बस्तीहरु
यी गाउँ र गोरेटाहरु
मैले सोधेको हुँ |

निर्माणाधीन स्थापत्य झैँ
अनेकौं पालुवाहरु बन्न लागिरहेको हुन्थ्यौ
म केहि कतै बुन्न लागिरहेको हुन्थें
हेरेर उकाली र ओरालीहरू परबाट – कि त्यहाँ कोही छ हेर्दै
म पहाडको आवाज सुन्न लागिरहेको हुन्थें
तिमी आइरहेको बेलामा
निर्माणाधीन बगैचाहरु झैं तिमी पनि आइदिन्थ्यौ
पहाडका परिवेशका छाया पार्दै
कतैबाट बिस्तारै आइरहेको एउटा पखेटाजस्तो
जताततै केहि आभाष पार्दै
त्यति बेला नै बाख्राको कहिले पाठोले भर्खर
खाएको दुबो मुखमा च्यापेको हुन्थ्यो
बिल्कुल चंचलतासहित
कहिलेकाहीं मलाई उसले पखेटामुनि हेरिरहेको पनि हुन्थ्यो |

के भनूँ म तिमीलाई
के भनूँ म उसलाई
पहाडलाई र गोरेटोलाई
भर्खरै नुहाएर केश फिजाइरहेको बिहानका वनस्पतिहरु
घाममा नुहाएर आफूलाई बसिरहेको बेलामा
म खोलाको पानीले सिंच्दथे , तैपनि
हातभरी नीलो लिएर आकाशबाट सिंच्दथे तैपनि
– बिहानका वनस्पतिहरुलाई
घरको संघारजस्तो
अथवा कता कताबाट आइरहेको मीठो बासनाजस्तो
अब त्यहाँ छरिई रहेको हुन्थ्यो
बगैंचाहरु झैं भएर होइन , रुखहरु भएर होइन
मानिस भएर तिमी आइदिए हुन्थ्यो
मनले सोचिरहेको हुन्थें
त्यसैले घामले बाँडेको पर्खाल सोचेको पनि हुँ |