मन गह्रौँ छ
मगज हलौँ छ
कलम समाउन नसक्ने गरी
कागज उचाल्न नसक्ने गरी ।
अनि मलाई लाग्छ,
मनभन्दा त गोडा राम्रो
मगज भन्दा त हात राम्रो।
गोडा दह्रो भए
थुप्रै भारी बोक्न सक्छ
चामल बटुल्न ।
हात दह्रो भए
थुप्रै सारी बोक्न सक्छ
माया बटुल्न ।
कविता पनि बिक्ने भए
माया र चामल जस्तै!
तर
उधारो कलमले लेखेको कविताको पारिश्रमिकले
कति चामल किन्ला र !
मुटु भाँचिएको पेन्सिलले लेखेको गीत
कति नै चमकदार होला र !
परिवेशसँगको संसर्गपछि
एउटा राम्रो कविता जन्माउने आशा थियो मलाई
कागज र कलमको अभावमा
नजन्मिई पनि खेर गयो ।