झ्यालबाट हेरिरहेछु
पश्चिमको लिस्नोबाट ओर्लिदै गरेको बूढो सूर्य
गोधूलीमा चिर्बिर चिर्बिर
कानेखुशी गरिरहेछन् पंक्षीहरु
र जिन्दगी सुकिसकेको पुरानो रूखजस्तो
उभिइरहेछ– एक तमासले !
सन् ८० को दशकको यस्तै एक साँझ
म हिडेको थिएँ घरबाट
आमाले गोजीमा हालिदिनुभएको जम्मा तीस रुपैयाँ बोकेर
पर दोबाटोसम्म पछ्याउँदै आएर
बहिनी त भन्दैथिई– तिहारमा त फर्किनुहोला है दाइ !
धेरै दाजुबिनाका बिरसिला तिहार बिताएर
विहे गरेर गई बैनी एक दिन
र एउटै ल्याप्चेले गुमाउनुभयो आमाले
त्यो पुख्र्यौली घर र गैरी खेत
तर म फर्किनँ
बरु दिनभरि भौतारिएर हिडें बम्बैका गल्लीहरूमा
रातभरि रुन्थेँ म घरको सम्झनाले
र विहानै गएर गर्थें– जोकरको भूमिका
र गर्थें करोडपतिको अभिनय दिउँसो
भोको, अनिदो र क्लान्त साँझमा गन्थें आकाशका ताराहरू
दिशाहीन आफ्नै जीवन बिर्सेर म गर्थें भयानक स्टन्ट
कुद्थें चल्दाचल्दैको रेलमा
यसरी क्रमशः जिन्दगी खिइँदै गयो
चोइटिदै गयो
ल्याबको अँध्यारो कोठामा इडिटिङमा काटिएका
एक– एक सिनहरूजस्तै त्यसै खर्च भए वहुमूल्य दिनहरू
र एक्कासि एक बिहान
ऐना अगाडि उभिएर दारी काट्दाकाट्दै
लाग्यो– म ताछिरहेछु ब्लेडले कुन परचक्री अनुहार ?
कतिखेर रक्ताम्य भएछ गाला थाहै भएन
त्यसै साँझ कोचेर बाँकी सपना मैलो झोलामा
म फर्केँ जन्म घर– यो सुदूर गाउँमा,
कतिबेर लाग्दोरहेछ र जाबो एउटा जिन्दगी बित्न
सम्झिन्छु ती पुराना दिनहरू
अनि ऐनामा हेर्छु आफ्ना सेताम्मे फुलेका केशहरू
आफूले आफैलाई सम्झिन्छु चलचित्रको कुनै पात्रजस्तो
थाह छैन– कतिञ्जेल गर्नुछ अझै एक्लो बूढोको अभिनय,
साँच्ची भन्छु बदलिंदै जाने जीवनका दृश्यहरूमा
एउटा चरित्र त हो प्रत्येक मान्छे
तर, अझै पर्खिरहेछु म जीवन बदल्ने कुनै क्लाइमेक्स