सानै छँदा उहिल्यै भेटेको थिएँ सानीमालाई मावलमा
काखको सानो छोरालाई मुसार्दै
सम्झाइरहनु भएको थियो उहाँ रोइरहेकी हजुरआमालाई
र भन्दैहुनुहुन्थ्यो– यसकै अनुहार हेरेर चित्त बुझाऊँला मैले
हुर्काउँला, पढाउँला र ठूलो मान्छे बनाउँला !
नाक कानका गहना सुम्पेर सहर पठाएको
लोग्नेले उतै घरजम गरे पनि
हराएको थिएन उहाँको आँखाको चमक
मनको दृढता र सङघर्षको सौन्दर्य,
एक्लै हाँक्नुभयो उहाँले जिन्दगीको रथ
घर छाउनु भएन कि? खेत खन्नुभएन कि !
आफ्नै पौरखले हुर्काउनु भयो स–साना छोराछोरी
र एकदिन खेप्नुभयो उहाँले छोराको अंशमुद्दा
अदालतको फैसलाअघि नै सुम्पिदिनुभयो सम्पत्ति
र आफू सर्नु भो गोठमा
पच्चीस वर्षपछि भेटे उहाँलाई यसपालि
दुःखको भट्टीमा सेकिएर अझै कठोर भएको थियो
विश्वासको इँट्टा
भन्नुहुन्थ्यो– कस्तै बिपन्नतामा पनि मसँग थियो
साहस र धैर्यको खजाना
इश्वरले उनीहरूको कल्याण गरुन् ! म त रोइनँ कहिल्यै
अक्षरसम्म नचिनेकी उहाँले पढ्नुभएको छैन
दर्शनको कुनै किताब
आफै एउटा दर्शन हुनुहुन्छ मेरी सानीमा !