तिम्रो 
ब्रम्हाण्डभन्दा टाढा....... 
सौर्यमण्डलभन्दा पनि धेरै टाढा........ 
म 
कुनै 
सुदुर,
अंधकार,
ढुसी परेको 
र अस्तित्वविहीन निर्जन ग्रहमा 
तिमीलाई नै सोचिरहेको छु । 
तिमी 
अनि 
मेरो बीच 
यद्यपि कैयौ प्रकाश-बर्षहरुको राक्षस-दूरी छ । 
तरपनि 
भावनाका उपग्रहहरुबाट 
प्रक्षेपित भइरहेका अनुभूतीहरुले 
कति नजीक...... नजीक...... नजीक ल्याइरहेको छ - हामीलाई । 
सत्ते !
कति नजीक छु - तिम्रो 
यद्यपि 
तिम्रो सिंगो ब्रम्हाण्ड भन्दा टाढा.......
सौर्यमण्डल भन्दा पनि धेरै टाढा..... 
कैयौ प्रकाश-बर्षहरुको अन्तरालबाट 
म आवाज दिइरहेको छु तिमीलाई 
तिमी 
र मेरो बीचमा 
असंख्यौ ग्रहहरु, उपग्रहहरु 
अनि ताराहरु उम्रिरहेका छन 
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !! 
अहो !
मीरा !!
म 
तिमीभन्दा शताब्दियौ पछिको मान्छे 
तिम्रो न्रीत्युको तल्लीनताबाट 
तिम्रो भजनका धूनहरुको सम्मोहनबाट 
तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट 
अनि तिमीबाट कति टाढा छु - म 
तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर 
मौन 
अनि चूपचाप छु - म 
तिमीलाई माया गर्ने - म !
तिमीलाई माया गर्ने - म !!