Last modified on 28 जुलाई 2020, at 14:09

प्रतिकूल मौसम / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:09, 28 जुलाई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


१. दिन/रात
आजभोलि
रातहरुका काँढाहरुले
हामीलाई बिझाउँदैछन्
— हाम्रा सपनाहरुले झैं
— हाम्रा रहरहरुले झैं
तरपनि
नदुख्नुको आडम्बर बाँचिरहेछौं
नघोच्नुको ढोंग गरिरहेछौं

विरोधाभासपूर्ण बचाइको प्रतिक
— जिन्दगी —
— ढोइरहेछौं, ढोइरहेछौं,... ढोइरहेछौं

घामको छायाँ पारेर
अंधकारका राक्षसहरु हामीमाथि
बर्बरतापूर्वक शासन गरिरहेका छन्
— उज्यालोलाई नै सयलमा पारेर
— उज्यालोलाई नै आझेलमा पारेर

२. गर्मी याम/जाडो याम
हर मौसमको
यो ठिहिर्या उने जाडोमा
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं
— जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा
हामी रातलाई दुहेर
दुधजस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं
हामी काँढाहरु बुनेर
बिश्वास जस्तै फूल फुल्ने सोचाइमा खुशी हुन्छौं

भाच्चिएको बाटो जिन्दगीको
हिडिरहेछौं निरुदेश्य !
हिडिरहेछौं गन्तब्यहिन !!

३. दिनको एक कुनाबाट
शुरु भएर अन्धकार धुवाँ जस्तै
जिन्दगीको कोठाभरि जमिरहेछ
— प्रदुषण फैलाएर
— प्रदुषित भएर
हामी
नाकै नभएको नाक
नाकदानीले छोपेर
भोकको पलंगमाथि
मज्जासँग सुतिरहेछौं
दिन/दुनियाबाट बेखबर
हरेक खबर/अखबरबाट बेखबर

नसुतेका भान गर्नेहरु
शब्दहरुको जुलुस लिएर हिड्दछन्
उज्यालोको खोजिमा
दिउँसै सडकमा मैनबत्ती बालेर

प्रत्येक कुनाबाट ङिचिक्क... मुस्कुराउँछ
— राक्षस अंधकार

४. बर्सातमै
बंजर भएका
मनहरुका फाँटहरु
गिद्धहरुका छायाँमुनि
काकाकुलझैं छट्पटाउँदैछन्
— पुरातन युगदेखि

हामी हेरिरहेछौं— शून्य आकाश
कर्याुङकुरुङहरु
बिउ छर्ने सन्देश दिंदै
कहिल्यै उडेनन्
छेउको सुकेको रुखका हाँगाहरुमा बसेर
बसन्तको आगमनको खबर गाउँदै
कोइलीहरु कहिल्यै गाएनन्

५. हो !
यस प्रतिकूल मौसममा
हामी सबैले मज्जासँग सुत्नु पर्छ
हामी सबैले मज्जासँग निदाउनु पर्छ
चुँ..... चुँ... चुँ....
सुत्नु पर्छ !
साँच्चै नै !!
सुत्नै पर्छ !!!