Last modified on 28 जुलाई 2020, at 14:15

बर्सातमा / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:15, 28 जुलाई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बर्सातमा.....
बेसोमति नदीहरु
आफ्नो धार छाडी किनारबाट उक्लन्छन्
र, कुद्छन् छानाहरुमाथिबाट
गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी

बर्सातमा.......
नग्न खोलाहरु
बगरहरु उक्ली सतहबाट हुइकन्छन्
र, उर्लन्छन् मानिसहरुमाथि
बस्तीहरुमा, गाउँहरुमा लाजै नमानी

बर्सातमा.....
धमिलो, आँखा नभएको
मृत्युको छायाँ सल्बलाउँछ — पानीमा

बर्सातमा.......
मृत्यु
स्वयं गड्गडाउँदै बग्दछ — पानीमा

बर्सातमा नै त.....
कुवा भित्रका भ्यागुताहरु
घमण्डले अझ उन्मत्त भई टर्टराउने गर्दछन्
आफू मात्रै 'ठूलो' हुनुको भ्रममा

'हुनु' हुने गर्दछ — बर्सातमा !
'नहुनु' पनि हुने गर्दछ — बर्सातमा !!

त्यसैले
बर्सातमा....
बोल्न खोज्नेहरु नबोल्नु
बर्सातका झर....झर...... माझ
'बोल्नु' को औचित्य कहाँ हुन्छ र ???