Last modified on 1 अगस्त 2020, at 20:35

हात नमिलाउनु / रेमिका थापा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:35, 1 अगस्त 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


कोरस

जब जब हाम्रा हातहरू मिलिरहेका छैनन्
तब तब हाम्रा मनहरू झन झन दह्रो गरी मिलिरहेका छन्
तिमी सिकुवामा निस्केर बलेँसी सम्म आऊ अथवा
तिम्रा खिड्कीहरू खोल र पर्दाहरू सर्काऊ
म बिहान घाम र साँझ जूनको किरणसँग तिम्रा आँखासम्म पुगेको हुन्छु
तिनलाई छुएर मेरा सासलाई थाहा गर र जोडले कराएर भन-
ओह ! मेरो छिमेकी ! मेरो सबभन्दा नजिकको देउता, फलाना फलाना के तिमी जिँउदै छौ?

घाम नलागेको धुम्मिएको मौसममा,
तिमी बाल्कोनीमा निस्क , तिम्रो लामो केश झड्काएर सुकाऊ
त्यहाँ खसेको एक टुक्रा उज्यालो देखेर दङ्ग पर्दै
हात हल्लाउ, इशारा गर र उँचा स्वरमा बोल- ओह! मेरी छिमेकी! प्यारी मिसेज फलानी,
के तिमी बाँचेकै छौ ?

                      क
म तिम्रा रीस, घृणा, इख, ईबी, आह्रिस, सेखी सबै बिर्सिदिनेछु
तिमीले मेरो सीमाना मिचेको , मेरा बारीको तुलफुलमा बिख हालेको,
पानीको मुहान थुनेको
मेरो धुरीमा कालो नजर पारेको सबै बिर्सिदिने छु।
बस् अहिलेलाई तिमी बोल्दै गर।
यसपाला माघे संक्रान्तिमा कन्दमूलको भाग तिम्रो पनि लाग्नेछ
तिहारमा मेरो देउसे तिम्रा आँगनमा पनि हुनेछ
तिम्रा बालबच्चाहरू मेरो बारीको कान्लामा बनभोज खानेछन्
म मेरो कुलोको पानी तिम्रो खेततिर पनि फर्काइदिनेछु
म तिम्रो पर्मा तिर्न पक्कै आउने छु
मङसिरमा न्वाँगीको पूजा हुँदा तिमीलाई पनि निम्तो दिनेछु
बरू तिमीले तिर्न नसकेको दुई मुरी धानको पैँचो म माफ गरिदिम्ला
मेरा छोराले तिम्रो कुलको भालेलाई घाइते पारेको सजाय कम गरिदेउ पनि नभनुम्ला
तर अहिलेलाई, तिमी धुमधाम समला बजाउ, चुड्का र ख्याली
तामाङ व्हाईको सेलो राग गाउँदै गर र तिम्रो गीतको ताकतले मलाई पनि जिउँदो राख्दै गर।
अहिलेलाई बस् तिमी खिड्की खोल पर्दा हटाऊ, इशारा गर र चर्को स्वर लगाऊ-
ओह ! मेरो छिमेकी मेरो मुरली कान्छा! के तिमी जिउँदो छौ ?
                       ख
अब उसो म तिम्रो घरको फाटकलाई कर्के नजरले हेर्ने छैन
तिम्रोमा आउने पोस्टम्यानलाई बाटो ढुक्ने छैन
कुरियर र इ मार्केटिङका डेलिवेरी म्यानलाई बाटो अल्मलाइदिने छैन
तिम्रा घरतिर जाने पिज्जाको बक्सा हेरेर घुटुक्क थुक निल्दै चोखे लाइदिने छैन
रात परेपछि तिम्रा घरका बिजुली र टेलिफोनका तारहरू काट्ने छैन
तिम्रा ढोके, ड्राइभर र मालीहरूलाई चुक्ली लाउने छैन
तिम्रा छोरी चेलीलाई भद्दा नजरले हेर्ने र कामुक मेसेजहरू पठाउने छैन
अबउसो पार्टीका झन्डाहरू च्याताच्यात हुने छैनन्
चुनाउको नाममा छानामा ढुङ्गा हान्ने र कुलेसोमा थुक्ने काम बन्द हुनेछ
हामी एकार्काका फेसबुक पोस्टहरूलाई इग्नोर गर्ने छैनौँ
बरू हामी हाम्रा इमेल र वाट्सएप आइडीहरू साटौँला
बरू म सखारै तिमीलाई समाचारका हेडलाइनहरू पोस्ट गरिदिउँला
परेका बेला तिमीकहाँ म आफ्नो गाडी पठाइ दिउँला
अथवा चाँहिदा म तिमीलाई मेरो वाइफाईको पासवर्ड पनि दिउँला
बस अहिले तिमी आफ्नो खिड्की खुला राख कि उज्यालोले मलाई देखन सकोस्
देखनु भनेको पनि दुरत्वको सठीक माप न रहेछ
हात मिलाउँदा नदेखिने तर नजर मात्र मिलाउँदा देखिने
दृष्टिको विज्ञानमा फेल भएका मात्र रहेछौँ हामी ।
अब, अहिले केवल तिमी इशारा गर्दै गर, आवाज उँचा पार्दै गर-
ओह! मेरा नजरमा बस्ने मेरा प्रिय छिमेकी फलाना फलाना के तिमी जिउँदै छौ ?
तिमी बाँसुरी बजाउ अथवा भाइलिन म डिस्टर्ब हुने छैन
बव डिलन अथवा अम्बर गुरुङ सुन मलाई झीँजो लाग्ने छैन
तिमी माइकल ज्याकसनको नाच गर अथवा माइक टाइसनको पोज देखाउ कि
एक्सन मुवी हेरेर सुपरएक्सनमा आऊ म कस्सिने छैन
किनभने मैले बुझिसकेँ,
मिलनको विज्ञान त हात मिलाउनुमा होइन मन मिलाउनु मा मात्र रहेछ
अनि मृत्युको दर्शन त तिम्रो मेरो आँखी डाँहीमा होइन
हातदेखि हातसम्म सरेर आउने पराय थोकमा पो हुँदोरहेछ !

सुन, कर्कलाको पातमा छ जीवन,
हात नमिलाउनु !!!
                                                                             
............................................................................
रचनाकाल १६. ०५.२०२०