छपछप रोपौँला सपसप काटौँला
पलम्पा रानीको खेत
आइदेउ न पानी फाटिदेउ न बादलु
म हेर्छु माइतीको देश<ref>लोकगीत</ref>
बाह्रहाते फरिया दियौ आमै
त्यसैलाई बुनेर तुनेर अनेकौँ हाते आकाश बनाएँ
दस महिने कोखमा राख्यौ आमै
त्यसैलाई गुनेर सौ सौ महिने कोख बनाएँ
दसधारा दुधको ऋण हो मलाई
त्यसैलाई रचेर दसै दस नदी बनाएँ
तिमीले दिएको सयपत्री र मखमलीको बिरुवा
हजार दाना आँसु फुलेँ दाजै
ताराहरू भन्छन् तारै तारा फुल्यौ
जुनेली भन्छ तिमी त जुनै जुन फुल्यौ
के के फुलेँ ,कस्तो फुलेँ
खै, म त धरतीका निक्खुर निक्खुर रङहरू नै फुलेँ
दाइजो दियौ छतिवनको बोट बाबै
म त हजार हजार मादल बनेँ
हजार विरानी र हजार ख्याली बजिरहेँ
म त मादलकै धुकधुकी बनेँ कि ता
आफ्नै धुकधुकीले मादल बजिरहेँ
आफै मारुनी आफै ढँटुवारे
नाचिरहेँ नाचिरहेँ जीवनको यस्तो विचित्र नाच
गाउँ घरले मर्यादाको घुम्टो हालिदियौ
म त तिम्रै अभिमान फुलिरहेँ
तिम्रै शिर ओढेँ तिम्रै घाम हेरेँ
हेरेँ तिम्रै अन्तहीन रीतिथितिको पहाड
तेतिस कोटी देवी देवताको थपना जपिरहेँ
कोटि कोटि देउराली भाकिरहेँ
तिम्रै मालिङ्गो तिम्रै मुरली तिम्रै विरह सुसाइरहेँ
कुलै कुलो बगेँ
बगरै बगर सुकेँ
खेतैखेत फैलेँ
रगतै रगत गहिरिएँ
आँसु न हो सुकिजाला बग्दा बग्दै
यहीँ मजेत्रोको खोलामा
ज्यान न हो खुस्केर जाला हिड्दा हिड्दै
यहीँ आयुको सङ्घारमा
सास उडिजाला, रगत मासु कुहेर जाला
सात डाँडापारि बस्ने मेरा माइती राजै
मक्किनुअघि नै मेरा कन्ये हड्डीहरू<ref>तामाङ गोष्ठीमा चारदाम (कन्यादान) गर्दा आमा-आपा दुवैतिरको रगत र मासु दिने तर हड्डीमाथि भने माइतीकै अधिकार सुरक्षित हुने मान्यता दोहोरयाइन्छ, यस कबोलअनुसार चेलीमाथि कुनै अनिष्ट भइहालेको खण्डमा कुटुम्बले प्रमाणस्वरुप चेलीको हड्डी माइतीअघि प्रस्तुत गर्नु अनिवार्य छ। यस रीतिले चेली माइतीबिच सम्बन्धलाई अटुट र प्रगाढ बनाइराख्छ साथै कुटुम्बको घरमा चेलीको मर्यादा र सुरक्षालाई पनि सुनिश्चित गर्छ। यसकारण कुनै पनि तामाङ परिवारमा माइती (मामा) बिना कुनै शुभ अशुभ कार्य सम्पन्न गर्न सकिँदैन।</ref>
लिन भने पक्कै आउनुहोला !
...........................................................................
रचनाकाल- १६.१०.२०१९