Last modified on 26 अगस्त 2020, at 16:11

बिर्सी बिर्सिसकिन्न / माधवप्रसाद घिमिरे

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:11, 26 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

लीला माइतका भुलेर घरका धन्दा तिमीले गऱ्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गऱ्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

‘ख्वै छोरीहरू छन् कता, म त गएँ, ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

गर्थ्यौँ दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ– मैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !
साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

तिम्रो रूप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जानेछन् अनि बिर्सँदै गुन पनि यो बैगुनी विश्वमा
बिर्सि बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्‍यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ