थिएन यो विश्व वितान; केवल
थियो महाव्योम असीम मण्डल
रमाइलाग्दी पृथिवी, शशी, रवि,
अनन्त तारा, मन मोहिने छवि ।
बनाउने पूरुष खोइ सुन्दर ?
नुहाउँ मेरो शिर यो कतातिर ?
थिएन केइ रचना भने अघि
ख-पुष्प झै यो कसरी भयो पछि ?
असत् कुराले किन सत्य झै हुनु ? -
सत्ले असत्मा लिन वा लवेटिनु ?
असत् र सतका बिच के छ अन्तर ?
नहाउ मेरो शिर यो कतातिर ?
थियो महाशून्य समुद्र केवल
उम्रे उसैमा अनगन्ति उत्पल,
हठात् उठी स्पन्दन-शक्ति विश्वकी
भयो अनुप्राणित विश्व जीउती ।
कहाँ छ यो स्पन्दनको सरोवर ?
नुहाउँ मेरो शिर यो कतातिर ?
अखण्ड ब्रह्माण्डभरी अवस्थित
उभो उभो छन् जति लोक ती सब
नडग्मगाई रहने हिसाबले
बसालिए कत्ति शिपालु हातले
कहाँ छ शिल्पी इनकै अभिन्तर ?
नुहाउँ मेरो शिर यो कतातिर ?
चटक् गरेझैं सब विश्वको रङ
फिराउने षड् ऋतुको समागम
गराउने को छ नदेखिईकन
बिगार्नका लागि बनाउँछन् किन ?
विचार-वाणी बनिए निरुत्तर
नुहाउँ मेरो शिर यो कतातिर ?
विचित्र यो सृष्टि सदा समुद्भव
भई रहेझै उमलिन्छ भक्भक
प्रभा समुद्भासित हुन्छ झर्-झर
अग्नीन्दु-तारा--बिजुली दिवाकर
फिका हुनेछन् उसका अघिल्तिर
नुहाउँ मेरो शिर यो कतातिर ?
अनन्त यानी छ अनन्त खोजमा
अनन्त बाटो छ अनन्त मार्गमा
अनन्त आफै नभई अनन्तको
अनन्त सन्दर्शन पाउला र को ?
अनन्त छन् देव अनन्त मन्दिर,
नहाउँ मेरो शिर यो कतातिर ?
जैलेदेखि विशाल यो पृथिविमा देखा परे मानिस
नाङ्गादेखि लिएर सभ्य युगका विज्ञान-पारङ्गत,
"आफै यो रचना भयो कि अथवा कर्ता कुनै छन् ?" भनी
गर्दैछन् कति खोज किन्तु उसतै आलो छ यो सोधनी ।
अपुङ्गो-बाट २००७