सखे ! उदायौ ? म बडो प्रसन्न छु
ममा तिमीमा अनुरागको लता ।
यही तरीकासित खूब फैलियोस्
फुलोस् हजारौं थरि फूल सर्वदा ।
(१)
सखे ! तिमीका प्रिय मित्र चार छन्-
'समुद्र' भो एक 'चकोर' भो दुई ॥
तथैव तेस्रो जनचाहि 'कैरव' ।
घनिष्ठ चारों दिनदोस्त ता 'म' हुँ ॥
(२)
सखे ! रहन्थे दिनरात ब्याकुल !
नपाइ वर्षाऋतुमा म दर्शन॥
झलक्क आयौ अब छोड्दथे कहाँ ।
गरेर आलिङ्गन लिन्छ चुम्बन ।
(३)
सखे ! यहाँ मानिस भन्दछन् यही-
'छ, दाग कालो उरमा कलङ्क हो ॥'
परन्तु मेरा हलुका विचारमा ।
अवश्य त्यो पावन प्रेमचिन्ह हो ॥
(४)
सखे ! तिमीले रविवाट उष्णता ।
लिएर अत्यन्त गराइ शीतल ॥
तुरुन्त पृथ्वीभरमा छरीदियौ ।
कठै ! तिमी झैँ अरु को छ विश्वमा ?
(५)
सखे ! सबै मानव जो तिमीसरि
परोपकारी यदि भैदिए भने ॥
प्रचार बढ्थ्यो किन वैमनस्यको ।
समस्त भू यो सुरलोक बन्दथ्यो ॥
(६)
अहो! घडी एक बजीसकेछ लौ ।
भएछ सारा चकमन्न चौदिशा ॥
झमक्क निद्रा दुइ नेत्र छोप्तछिन् ।
सखे ! नमस्कार ! बिदा भएं गएँ ।
(७)
('कविता-नन्द' बाट)