अक्षरमा भासिएका आँखा
सपनाले पुरिएको चेतना, र
मुटुले भिजेको मनबाट निकालेर आफूलाई
फिजाउँछु एक बन्ददृष्टि
शहरका गल्ली र आकृतिहरूमाथि ।
आफैँभित्र गुजुल्टिएको यो भीडका बीचैबीच
बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर
राम्रै गरेछन् कसैकसैले,
उठाएर देशको दरिद्रता नछेक्ने पर्खाल
बेसै गरेछन् बाँकी अरूले ।
नत्रभने
बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका
यतिबिग्न अस्ट्रिचमान्छेहरू मुत्न कहाँ जाने थिए होला?
अस्पष्ट श्वरमा मलाई खै के भन्यो, र
घोप्टियो टाउको
फेरि कागजमाथि ।
चारचार लाखका तिनका पर्खाल त तीनतीन करोडका जग्गामा,
दिनभरी पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्,
तीस रुपैयाँको किताबमा बरू
थुक्ने समेत आँट गर्दैनन् कोही।