Last modified on 22 जनवरी 2022, at 09:16

सम्पत्ति / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:16, 22 जनवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

अक्षरमा भासिएका आँखा
सपनाले पुरिएको चेतना, र
मुटुले भिजेको मनबाट निकालेर आफूलाई
फिजाउँछु एक बन्ददृष्टि
शहरका गल्ली र आकृतिहरूमाथि ।

आफैँभित्र गुजुल्टिएको यस भीडका बीचैबीच
बाटाछेउ ठाउँठाउँ खाली जग्गा छाडेर
राम्रै गरेछन् कसैकसैले,
उठाएर देशको दरिद्रता नछेक्ने पर्खाल
बेसै गरेछन् बाँकी अरूले ।

नत्रभने
बाँध्नै नसकिने गरी इँजार चुँडिएको यस राज्यका
यतिबिग्न अस्ट्रिचमान्छेहरू
मुत्न कहाँ जाने थिए होला?

अस्पष्ट स्वरमा मलाई खै के भन्यो, र
घोप्टियो टाउको
फेरि कागजमाथि ।

चारचार लाखका तिनका पर्खाल र तीनतीन करोडका जग्गामा
दिनभरिमा पाँचपाँच सय मान्छेले मुत्ने गर्छन्,
तीस रुपियाँको किताबमा बरू
थुक्ने समेत आँट गर्दैनन् कोही ।