सुन्दर सुखकर शुभंकर
लक्ष्य यो महामंत्र तिम्रो-मेरो –
योगदान यहाँ प्रत्येकको
छैन र साथी जन-जनको?
रागबिनाको आलाप कहाँ हुन्छ,
सुर-तालको भिन्नतामा आश्चर्य कस्तो!
यहाँ केवल व्यवधान प्रबण र दृष्टिकोणको,
प्रतिफल जसको सचेत सावधान एका-अर्काको।
यो प्रण-प्रणयमा को बाँच्न सक्दछ चेतनाहीन एक्लो,
विपरीत जाने यस्तो साहस गर्दछ को?
ढुङ्गा होइन, साथी चोट यहाँ-वहाँ लाग्दछ,
हरेक मुटुमा तीर-ज्याला बल्दो छ।
फरक यति-यति मात्र यहाँ
कोही होमिनु पुग्दछ कोही आँसुमा अल्झेर बस्दछ।
त्याग-परित्याग त्यही लक्ष्य-बिन्दुको,
हेरफेर सीमित परिधि-परिधानको।
कर्म-क्षेत्र विपरीत भएर के भो
कर्म-कर्तव्य एक भए भो।
साथी! साथ तिम्रो अनेक होइन मात्र यहाँ
समस्त गाथ हाजिर छ जहाँ ।
स्वप्निल-प्रभातको प्रतीक्षामा
कोटि-कोटि नेत्र केन्द्रित छ।
शान्ति लिनेभन्दा दिने बढी
स्वयं क्रान्तिको भागी भोगी बनी,
यस्तो आफूलाई मारेर बचाउने अरूलाई
बलिदान स्वतःको निम्ति स्वयं किन नहुने?
आत्मा-आत्मा छ भने एक
भाँजो हाल्ने को यदि हामी नै छौँ भने एक!
विरक्तिमा लुप्ति, लुप्तिमा विरक्ति
छैन है हुन्न है यहाँ कोही।
जीवन जागृत छ रे आज
धीरज धरतीको वरदान छ साथ।
कसले के कति गरे यहाँ
यसको लेखा-जोखा इतिहास छ,
म तिमी हामी अदृश्य भए पनि
कृति-कर्म अजर-अमर बन्दछ -
यसैले जानेको पालो अब होइन, बाँच्नेको पालो छ!
थिचाइ मिचाइले लथ्रिएको
दुई वचन खप्नुमा के छ -
यो प्रहारमा पनि हार होइन, साथी, आत्मीयता छ -
यो उच्चाटनमा पनि असीम अटल उत्सर्ग छ।
नभन साथी! म एक्लो-एक्लो' हामी
विस्तृत हेर त्यो आकाश शून्यसितै एक्लो छ
तर पनि त्यहाँ तारागणको भरमार छ।
अथाह सागर धनी जलराशिको
त्यो किन्तु एक्लो-एक्लो छ -
जल-प्राणीले यो परिपूर्ण छ।
प्रकृति स्वयं एक्लो तर यो कहाँ एक्लो छ,
सृष्टिको अद्भूत खेल यहाँ चल्दो छ
रित्तो भएर के भो, जब साराका सारा भरपूर छ!
यसैले तिमी एक्लो भएर के भो
जब तिमीसित आत्मबल प्रशस्त छ।