थियो समय सन्ध्याको, नजीकै सूर्यघाटको
किनारामा बसें, हेरे सारा दृश्य पहाडको 
झ्याउँकिरी कतै आफ्ना गाना-ताना सुनाउँथे 
कतै "चिर्हुट्", कतै "चिर्र” चिडिया चर्चराउँथे 
बाग्मतीमा यता पानी गर्दथ्यो खूब कल्कल 
उता हल्ला मचाऊँथे आई बानरका दल 
यत्तिकैमा बहाएर ल्यायो पुष्प मनोहर 
कहिले छालको माथि उर्लन्थ्यो, खस्दथ्यो तल 
कहिले उ यता पुग्थ्यो कहिले ता उतातिर 
ढुङ्गाको कापमा अल्झ्यो कहिले उ कठैबर 
गोलमाल गरी छाल आयो, हुत्याउँदै लग्यो 
निसासिएर, आत्तेर अनाथ बिचरो गयो 
अकस्मात् भुमरी ठूलो पो पानी घुमीकन 
पर्न गो उसमा त्यो हा ! गर्यो देह विसर्जन । 
(बाग्मती बुझ संसार, मनुष्य एक पुष्प हो 
आशाको लहरी सारा भुमरी भाग्यचक्र हो) ।