ज्ञान दीप हो,
आदि मध्य अन्त्यमा सँधै प्रकाश दी
दुःखमा अचूक रामको महौषधी
विश्वको विशाल भाल गर्वले उठोस्
यो वसुन्धरा सदैव शान्तिले भरोस्
देवझैँ मनुष्य बुद्ध होस् भनेर यो
दिव्य प्रेम ली झर्यो सुतत्त्व ज्ञानको ।
ज्ञानदीप यो ।।
प्रेम ज्योति हो,
गीतको सुधा छरेर गुप्त वेदना
त्रास, भार, पाशको छुटाइ भावना
शब्दयुक्त तानमा छ मुक्त गान यो
छर्किई दिगन्तमा कला बिहानको
रश्मि-राशि स्वच्छ स्वर्ण रंग ढंग भो
एकता लिई झर्यो विधान प्रेमको ।
प्रेम ज्योति यो ।।
एकता बढ्यो,
मस्त मत्त हस्तितुल्य एक मार्गमा
सूत्र ली उनी अनेक पुष्पहारमा
यो सुगन्ध दी बलिष्ठ पुष्ट पार्दछ
सूर्य तेज-पुञ्ज अन्धकार नाश्दछ ।
यो हिमाद्रिझैँ विशाल उच्च ढाल हो
ज्ञान, प्रेम, एकता मनुष्य-चाल हो ।
तीन गीत यो ।।
........................................
भारती, २|५, कार्तिक २००७