बादल-तहमा पुग्न में गाए कतिको गद्गद् हुन्थें ।
कति ती नभका सेता घरका झ्याल उधारी हेर्थें !
बादल-राजा-रानीलाई भेट अवश्य गर्थें ।
औंल्याई अनि मेरो घर यो नजर गराईदिन्थें ।
ताराहरुको हात समाई चकलीपाँपाँ खेल्थें
सेता-सेती टुक्रा-टुक्री बटुली के-के गर्थें ।
सरसर उड़ने मुसुमुसु हाँस्ने मति बनाईदिन्थें
यो जगका मानिसलाई अनि छक्क तुल्याईदिन्थें ।
जगतीतलको रंगभूमि को अभिनय बदलीदिन्थें
मौजपनामा भुरुभुरु उड्ने मानव-पंखी हुन्थें
कल्पित भनको हावाघरमा चहचह झुल्ने गर्थें
बादलहरूको बिचमा नौलो एक तमासा बन्थें ।
दिवस-निशामा थरि-थरि फुल्ने फूल लुकाईदिन्थें
बिच-बिच कहिले पान त्यसको फर्र फुकाईदिन्थें
खोज्न हिडेका मारुतलाई "लाऊ लाऊ" भन्थें
पहिल्यै तिनले थुत्न नपाई फेरि लुकाईदिन्थें ।
..............................
भारती, १|८, माघ २००६