कतै कुनै आकाश
मेरो पनि होला
कतै कनै धरती
मेरो पनि ठहर्ला
म तिमै सिर्जनाको अङ्ग
दोष कसलाई दिऊ ?
तिमीलाई कि आफूलाई
वा, मभित्र हुर्कदै गएको विरोधाभासलाई ?
कति लुकेर
कित लुकाएर बाँचें म यहाँ आफैलाई
तर मेरो अन्त:करणले धिक्कार्न सकेन मलाई ।
मेरो निम्ति
मेरा अनुभूति सबै स्वाभाविक थिए
तर कोही भएन बुझने यसलाई ।
यदि जन्म यथार्थ हो भने
किन मान्न सक्दैनौं हामी
यसले लिन सक्छ कुनै रूप पनि ।
तिम्रो सोचाइको सीमा तोकिदैमा
म दोषी त ठहरिन्न यसै
त्यसभित्र नपर्दैमा ।
स्वीकारेका थियौ तिमीले
अर्धनारीश्वरलाई यहाँ
फेरि किन ?
हाड, छाला, मासुमा
कसैको शरीर र प्राणमा
मान्न चाहँदैनौ
म कोही भई जन्मन सक्छु
म नारी वा पुरुष
पुरुषमा नारी
नारीमा पुरुष
केही भई हुर्कन र बाँच्न सक्छु ।
म तिनै सन्तान
नत्याग यसरी मलाई
हीनताले अपमानित भई
तिम्रो मायासित
म आफू भई बाँच्ने हक माग्दै छु
यो आकाशमुनि
निर्भय उभिने सामर्थ्य माग्दै छु ।
अनि कतै कुनै जीवन
मेरो पनि होला
कतै कसैले
मलाई पनि पर्खला।