म मेरों गर्भ दिन चाहन्न
तिम्रो सन्तानका लागि
सृष्टिको कुनै नयाँ उपाय खोज अब ।
त्यो नीहिने सास्ती
र प्रसवपीडाको यातना
मरीमरी बाँचेकी छु म
प्रत्येक प्रसवमा ।
वंशलाई बोक्ने
यो शारीरिक बाध्यता
सजाय भई जन्मेको छ मसित
यही त्रास र बन्धनमा
गलेकी छु म जीवनभरि ।
साँच्चै भनौँ भने
मेरो स्वतन्त्रताको कुनै अर्थ छैन
म गर्भयुक्त नभएसम्म ।
कसले भनेको मातृत्व शरीरमा हुर्के मात्र
नारी सम्पूर्ण हुन्छे ?
पूर्णता अस्तित्वबोध
र विकासमा निहित छ
खालि सन्तान जन्माउनुमा हैन
र स्नेह सम्पर्को देन हो
रहँदाबस्दा कसैसित पनि हुन सक्ने ।
हैन भने,
गर्भमा तुहिएका
प्रत्येक सन्तानको लागि
मातृत्व मर्नुपर्ने ।
तसर्थ, आऊ तिम्रो वीर्य
र मेरो रज लगी
कुनै प्रयोगशालामा जम्मा गरौं
अनि चाहेमा, सकेमा
प्रबन्ध मिलाऔं त्यहीँ
सन्तान जन्माउने
र ल्याएर पालौँ आआफ्नो सन्तानलाई ।
यो गर्भद्रोह नै
मेरो अस्तित्वको सार्थक सङ्घर्ष हुनेछ ।