थाहा छ
आकाश जतिनै झुके पनि
धरतीलाई कहिल्यै छुन सक्दैन,
थाहा छ
जूनलाई जतिनै मनपराए पनि
त्यो कहिल्यै अँगालामा हुन सक्दैन ।
थाहा छ
मनको अँध्यारो
कुनै उज्यालाले मेटाउने छैन
थाहा छ
एक्लोपनलाई कुनै साथले छुटाउने छैन ।
तर पनि मन त मनै हो
एकपलको खुशीको कामनामा
हजारौँ दु:खसँग अल्झिरहन्छ,
जूनको चाहमा जलेर रातभर
शीत बनेर झरिरहन्छ,
कुनै पुरानो घाउ झैँ
बल्झिरहन्छ, दुखिरहन्छ ।
थाहा छ,
पूरा हुने छैनन् मनका सबै मागहरू
तर पनि मन त मनै हो,
अनेक कामना गरिरहन्छ
कतै उक्लिरहन्छ, र ओर्लिरहन्छ ।
थाहा छ,
तिम्रो स्व मेरोमा समाहित हुन
असम्भव नै छ लगभग ।
तै पनि
मन त आखिर मनै हो ।