रूपले घपक्कै बले पनि
उज्यालो जति नै छरे पनि
मैनबत्तीले मलाई कहिल्यै लोभ्याएन ।
महान कर्म हो उज्यालो बाँड्नु
कठीन भोगाइ हो, जलेर सकिनु
तर
अरूकै लागि बलेर सिद्दिनुमा
म कुनै आनन्द देख्दिनँ ।
के अर्थ रहन्छ, जब
आफ्नो उज्यालोमा आफैँ हिँड्न सकिँदैन ?
जलेर सकिएपछि कसैको यादमा भइँदैन
बलेर हराएपछि कसैको स्मृतिमा रहिँदैन
केवल पीडा बोकेर
जति नै प्रदीप्त भए पनि
पग्लेर बिलाइसकेपछि कुनै प्राप्ति भेट्टाइँदैन ।
बल्नुको सार्थकता त तब हुन्छ
जब,
सर्वत्र उज्यालो छरेर पनि
खुद आफू जलेर सकिइँदैन ।
००००