आफ्नै छुद्र स्वार्थको पोखरीमा पौडिरहेको मान्छेलाई
फुर्सत हुँदैन कसैको सल्लाह सुन्ने
भ्याउँदैन ऊ बुझ्नलाई आफ्ना हितैषीका कुरा ।
जब आफ्ना लोभहरूमा चोबिएर
आफैँलाई घात गर्न थाल्दछ मानिस
जब उद्धत हुन्छ आफैँलाई विलुप्त गराउन
र
अरूलाई बिर्सँदा बिर्सँदै जब
आफैँलाई बिर्सन थाल्छ मानिस
तब खोलिदिन्छ समयले आफ्ना सन्देशका अन्तर्यहरू
देखाइदिन्छ जोखिमका अनेक रूपहरू
हिँडाइको यस विन्दुमा आइपुगेर
एकपल्ट फेरि टक्क अडिएको छ समय
सङ्केत गर्दे आफूले ल्याएको सन्देशप्रति
देखाउँदै मानिसका कर्मका परिणतिहरू ।
बुझ्न चाहने वा बेवास्ता गरेर
उही भुमरीमा गुजुल्टिरहने
मान्छेको रोजाइको विषय हो ।
युगौँदेखि निरन्तर
केही न केही सन्देश बोकेर
हुलाकीझैँ
निरन्तर दौडिरहेको छ समय ।