सीमाङ्कित छु
समय गायव छ तद्क्षणहरूबाट
पर्खाइका अनादिहरू
कतै छैनन् आइरहेका चियाउनसम्म
दुखेपछि थाह पाउँछु, यो मुटु
शताब्दीयौँदेखिको घाउ हुँदो हो
सन्देश आउला र उठाउँला भनी
बटुलिराखेको पिठ्युँको भारीजस्तो मन
बतासले झ्यालमा हिर्काएपछि पो थाह पाउँछ
कहिले हो कहिलेदेखि प्रतिबन्दित भइसकेछन् साँझहरू
उत्ताल स्मृतिहरूले
हृदयको भर्याङ ठड्याइदिएपछि
पस्दैगरेको बिहानजसरी
छरिन्छु आफ्नै मनको मझेरीभरि ।
अकस्मात् छाम्छु आफैँलाई र पो थाह पाउँछु
बाँच्दाबाँच्दै बाँचूँजसरी म
जीवनका कयौँ गतिहरूले त
हिँडौँ लाग्दालाग्दै हिँडन छोडिसकेका रहेछन् ।