कैयौँ वर्षहरू हिँडिसकेँछु,
भीड र कोलाहलका एकान्तका बीचैबीच
बाँचिदिएर आफू समावेश नभएजस्तो एउटा जिन्दगी
निक्लेको रहेछु, खै कुन गन्तव्यको खोजीमा !
कहिले अक्षरहरूजस्ता बाटो भएर पनि हिँडेछु
कहिले बाटोजस्ता अक्षर हुँदै पनि हिँडेछु
सुक्दै गरेको गहिरो कुवाबाट पानी उबाउन खोजेझैँ
गर्दै हिँडेछु बुझ्दै नबुझेका कामनाहरू
खोज्दै हिँडेछु देख्दै नदेखेका आनन्दहरू ।
कहिल्यै नटुङ्गिने हिँडाइबाट
मोडिएको छ यात्राको परिवेश अब
बद्लिएको छ मेरो हिँडाइको बाटो
फेरिएका छन् मेरा लक्ष्य र गन्तव्य ।
हिँडिसकेको बाटोको पल्लो छेउको यस विन्दुबाट
अन्तिम गन्तव्य बनाएको छु यतिबेला
आफ्नै चैतन्यको सूक्ष्म विशालतालाई ।