देखिरहेछु,
कन्दराबाट चियाइरहेका प्रकाशहरू
प्वाँखहरू
अग्लिएर पुगे पनि आफै आफ्नो उचाइमा
आरोपित भई उभिनु छ
अरूकै तातो अरूकै ओतमा
खसे पनि आवेगको असिना जसरी
आँसु र तिरस्कारको आघातमा पर्नु छ
जीवनको सपना देखाएर
मृत्यु रचाउने स्पर्शका निम्तिसमेत
जूनको मुस्कान छर्न विवश छ...
आफ्नै आकाशको सीमासँग
विगठित हुनु बारबार र पर्खनु उज्यालोलाई
पहराहरूको प्रतिगर्जनमा संरक्षित ठानेर आफूलाई
निसास्सिँदै बाँच्नु मझेरीको एउटा कुनामा...
मझेरीमा सरेदेखि जून
आफ्नै अँध्यारोले ढाक्दै बाँचेको छ,
उसको सम्पूर्णता।