छाडेर सारा टेकाइहरू
छाडेर पानीछेउ बगरमा एकजोर चप्पल
अलप भइन् हजुरआमा!
पानीका पत्रपत्र चहारे
खोज्नेहरूको लस्करले
जङ्गलका पात पात केलाए,
ओडारका ढुङ्गाहरू पल्टाए,
न पानीमा
न बतासमा
न बालुवामा
कता बिलाइन् तिनी ?
छापिदिएर इतिहासजस्ता पैतालाहरू
चित्रैचित्रहरूबाट फुत्किएर विचित्रसँग
खोई!
कता अलप भइन् तिनी?
हजुरआमा !
घाउहरू सुम्सुम्याउँदै छ्यौ कहीँ भने,
चित्कारै सही
कहिले न कहिले आवाज दिनू !