पहाडमा कावा खाँदै दौडिहिँड्ने बतासमा
कति निष्फिक्री फेरिदिन्थेँ
मानौं केही होइन यो ढुकढुकीमा छचल्किरहने श्वास
केही छैन सम्बन्ध जीवन र बचाइका बीच ।
बन्धन थियो भनूँ भने
फराकिलो पनि त थियो धर्तीमाथिको आकाश
ब्यूँझाइरहने सपनाहरू थिए
निदाउनलाई पनि यथेष्ट थिए थकाइहरू ।
हुँदा पनि भय र त्रासले परिव्याप्त परिवेश
उम्रिरहेकै हुन्थे, निर्बिध्न गीतहरू
मान्छु-
सीमित थिए विपनालाई अवसरहरू
तर अनन्य थिए खुसीका बहानाहरू
शून्य भइसक्नेछ
बिलाउँदैन अन्धकारमा सल्काइराखेको मैन
हेरिराख हातहरू उठ्नेछन्
शून्य भइनसक्दै
तिम्रो बलियो सुरक्षाको घेरैभित्र पनि।