Last modified on 25 अगस्त 2024, at 21:53

फेरिएको मार्क्सवाद ! / गण्डकीपुत्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:53, 25 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गण्डकीपुत्र |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कमरेड !
अनेकन पीडा खपेर
टपरीमा दिशा पिसाब गराएर
हामीले मार्क्सवादको ज्ञान हासिल गर्यौं
तिमीलाई आदर्श मानेर
प्रतिबन्धित कालमा ।

शासन जनताको हुनेछ
हामी किसानका माझमा जानेछौं
मजदुरको माझमा हुनेछौं
हामी भोका नाङ्गाका बिचमा हुनेछौं
हामीलाई घोक्न लगाइएको
हामीलाई घोकाइएको
महान विचार यही थियो
हामी दृढ विश्वासका साथ
गाउँ तिर पस्यौं
भेट्यौं किसान , मजदुर र भोकाहरुलाई
र कसिलो हात मिलाएर भन्यौं
शासन जनताको हुनेछ !

समयसङ्गै व्यवस्था फेरियो
राता झण्डाहरु
गाउँ गाउँमा यसरी फहराए
मानौं सब ठिक हुँदैछ
तर
हाम्रो आदर्श
हाम्रो सपना
कतै अलमलिएको छ
कतै बरालिएको छ
अखवारहरु किन लेख्छन्
हाम्रो मन भत्कनेगरी समाचार
एफ एम रेडियोमा किन
आउँछ भ्रस्टाचारको लामो सूचि !

हिजो हामीलाई पढाउने गुरू
हिजो हामीलाई मार्क्सबाद चिनाउने
महान क्रान्तिकारी नायक
आज तस्करको गुप्त बैठकमा
दलालहरुको डिनर पार्टीमा
नगर बधुको लिपिस्टिक पोतिएको ओठमा
या फाइबस्टार होटलको टेवलमा
खोजिरहेको छ मुक्तीको गित
फेर्नुपर्ने व्यवस्था थियो
तर तिमी फेरियौ
कमरेड !
र तिमी सम्म पुग्न
हिजो साथ दिनेहरुले पनि
गाउनु पर्ने भो खुसामदको भजन !

देख्छु कता कता
तिमी डराउन थालेका छौ जनतासङ्ग
सङ्ग-सङ्गै हिंडेका साथीहरु सङ्ग
र धाउन थालेका छौ मन्दिरतिर
काट्न थालेका छौ राँगा बोका
र हाँस कुखुराहरु
बिर्सिएर सर्बहारा जातीको
अन्तर्राष्ट्रिय गीत
निरन्तर गुनगुनाउ थालेका छौ
रेडियोबाट बिहान बिहान
बज्ने भक्ती गान ,
तिम्रो पहिरन फेरिएको छ
जसरी फेरिएको छ तिम्रो विचार |

कुनै समय
पशुपतीनाथले सबैको कल्याण गरून् भन्नेहरु
आँफै हराएको यो देशमा
तिमी भने गेरु वस्त्र लगाएर
कस्तो सत्तामा राज गर्ने
सपना देखिरहेका छौ
शासन जनताको हुनेछ भनेको होइन र कमरेड ?