Last modified on 28 अगस्त 2024, at 21:41

मेरो कोठामा / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:41, 28 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=सौन...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिमी गयौ, यो मन हर्षित छैन मेरो कोठामा
मनको दुखाइ सीमित छैन मेरो कोठामा
 
बेग्लै मजा थियो तिमीलाई फकाउनुको
तिमी नहुँदा हारजीत छैन मेरो कोठामा
 
वर्षात् छ हजारौँ कल्पना र सम्झनाको
तिम्रो कुनै चिज विस्मृत छैन मेरो कोठामा
 
न पर्दा हल्लिएका छन् न दीप चलमलाउँछ
तिमी छैनौ, जोश जीवित छैन मेरो कोठामा
 
टुङ्गो छैन कति बेला कता बग्ने हो झरेर ?
आँसु आज सुरक्षित छैन मेरो कोठामा
 
बिछोडको यो रातमा निश्वास चिसोचिसो छ
मानौँ कुनै कोठा उपस्थित छैन मेरो कोठामा
 
चुरा, कल्ली, पाउजू, झुम्का, र त्यो चाल तिम्रो
तिमी नहुँदा कुनै सङ्गीत छैन मेरो कोठामा
 
कसरी बसूँ यो नीरव उदासीमा सुमन !
रात छ, म छु तर, प्रीत छैन मेरो कोठामा