धरती र आकाशको किरिया खाएर म भन्छु
मानवतालाई विश्वासघात गर्नेका निम्ति
म स्वयंवरका नवरात्रीमा पनि
चाल मारेर भाग्छु ।
कसैको सम्पूर्ण हुन खोज्ने
स्वप्नका कुरालाई समेत चटक्क चुँडी
कहिले नदेखेकालाई
म वरमाला पहिराउन पुग्छु ।
धरती र आकाशको किरिया खाएर
साँच्चै म मानवतालाई नै छल्छु
अझ छल्नै परे मृत्युका छायामा
कसैको अबोध अनुहारलाई
झुठो प्रेम गरेर छल्छु ।
मेरा जलनहरू चिताले जलाउन नसके
तप्त हृदय स्वीकार गर्ने कोही सहृदय नभएर
कसैले थाहै नपाई
ग्रीष्मका घाममा डढेको बालकको
आँत जलाएर बल्छु
म मानवतालाई छल्छु ।
छल्नै परे मेरा व्यथाका आँशु
जोबन फुट्न खोज्ने किशोरीहरूका आँखामा
बिसाएर जान्छु
अन्तिम श्वासका भरमा पनि
ठुहुरोको भोको पेट चिमोटेर जान्छु ।
धरती र आकाशको किरिया खाएर भन्छु
मानवतालाई विश्वासघात गर्नेका निम्ति
स्वयंवरको नवरात्रीमा पनि
चाल मारेर भाग्छु
म मानवतालाई नै छल्छु ।