यो ढलेको गमला
उठाऊँ कि वा यसै छाडिदिऊँ
म ठिक ठिक सोच्न सकिरहेको छैन...
यसै पनि
उठाउनै नसक्ने गरी
घोप्टिएको यो विश्वासको निरन्तरता
यो गमलाबाट आज
एउटा युग सिङ्गै पोखिएको छ
मानौँ म सुनिरहेछु—
गमलाभित्रको माटोमा
असङ्ख्य बालकहरूको चित्कार
असङ्ख्य आमाहरूको रुवाबासी
यो सृष्टिको सबैभन्दा कुरूप अनुहार
यही गमलाको टुक्रा टुक्रामा छ
हजारौँ गर्भहरूको
अनपेक्षित रिक्ततामा
गमलाभरि भरि म
पहेँलो साँझ बालिरहेछु
लाग्दैछ यो समय टक्क अडिएको छ—
उज्यालो र अध्यारोबिचको
यो पहेँलो मध्यान्तर
विश्वास र आशाको विरुद्ध
फुलेको छ रक्तरञ्जित घाउहरू माझ
बिडम्बनापूर्वक !
यो गमला ढल्नु
यी फूलहरू किचिनु
मात्र गमला र फूल कहाँ हो र
म गमलाको गर्भाशयबाट
सयौँ विरुवाहरूको चिहान खोतलिरहेछु...
०००