Last modified on 5 सितम्बर 2024, at 22:01

जुत्तामा पालिस लगाउने / कृष्णभूषण बल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:01, 5 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्णभूषण बल |अनुवादक= |संग्रह=भो...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

धेरै वर्षपछि पाएको छोराजस्तै
या पहिलो दिन छोरालाई स्कूल पठाउँदा चिटिक्क पारेजस्तै
थैथै गरेर आमाले कोक्रोमा नानी हल्लाएझैं
जाबो खुट्टाको गन्दै जुत्तालाई सर्वस्व सम्झेर
टल्काउनु पर्ने जुत्ता उसले सधैं श्रीमतीको आँसुले भिजाउँदै
चम्काउनु पर्ने उसले मालिक भनाउँदाको अनुहार कालो जुत्तामा ओराल्दै ।
मान्छेको स्वाभिमान कतै हुन्छ भने पनि उसैलाई थाहा छ
मान्छले कतै आँखा उठाएर हिँड्न पाउँछ भने पनि उसैलाई थाहा छ
सधैं उसले राक्षससम्मको खुट्टा समाउनुपर्छ केको स्वाभिमान ?
अरुले आकाश ताकेर हिँड्दा उसले अरुको खुट्टा ताक्नुपर्छ, कसरी छुने चन्द्रमा ?
मजदुरी त सबैले गर्नै पर्छ तर उसले मजदुरीको पनि मजबुरी उठाउनु पर्छ
मानौं कि ऊ स्वयम् नै जुत्ता हो र उसले सधैं नै सडकमा घिस्रिनु पर्छ !
तर हे शिल्पी हो तिमीले चलाएको बुरुसभन्दा पनि छिटो
तिम्रो संसार घुम्दैछ निरन्तर
तिम्रा जस्तै मजबुरीका आँसु र पसिनाले बगाएर
ल्याउँदैछन् तिम्रा शुभ दिनहरू लगातार
कौडीमा खुट्टा तन्काउनेहरू हो खबरदार !
जब यी मजदुरहरूको संसार घुमेर यी शिल्पीहरूको पाखुरीमा आइपुग्ला
त्यस दिन जुत्तामा दलिने कालो पालिस तिम्रै मुखमा पोतिएला !

०००