डस्टबिनमा छोडिदिएर सभ्यता
कोलाहलको विगुल फुक्दै
सँधै आफूमात्र अगाडि हुनखोज्छ
शहर ।
भीड बटुलेर धकेला–धकेल गर्छ
निरर्थक रहर उधिनेर बाध्यता जन्माउँछ
नालीमा खसालेर मानवता
मौका छोपी–छोपी लुटाउँछ अस्मिता ।
महलमै बसिराखेर सबै अभाव पुरागर्न खोज्छ
कोठाभित्रै अँटाएर संसार हेर्न चाहन्छ
भोग सिर्जना गरेर एक–आपसमा
मनोमालिन्यको जीवन जोगाउन तम्सिन्छ ।
फुटाएर ताल बग्न चाहँदैनन्
च्यतिएर दोबाटोहरू हिँड्न जान्दैनन्
बाँडिएर आफू फैलिन मान्दैनन् ।
यसरी शहर भित्रभित्रै खाँदिएर साँघुरो भएको छ
यसरी शहर आफूआफैँ बाँधिएर अपूरो भएको छ ।
अब त हामीलाई
शहरको खाँचो नभएकै वेस ।