यस शरीरमा
कालो छायाको प्रभाव परेको छ
क्रूरताको स्वभाव फैलिएको छ
स्नेहको अभावले छातीभित्र आगो भरिएको छ ।
आँखाबाट फुसफुसाइरहेको छ धूवाँ
विनाश पोतिएर अनुहारमा
पलाएको छ ओठमाथि अहम्को जुँगा
चोटै चोट बोकेर शरीरभरि
टाँसिएको छ, मानवताको खडेरी इतिहास ।
यस्तो बेला, नबजाऊ कुनै सङ्गीत
गाउन सक्दैन उसले प्रेमको गीत
नसुमसुम्याऊ चर्किएको गाला
लिन सक्दैन उसले कोमलताको स्वाद
आगो निलेर बलेको फोक्सोले स्वास फेर्दैन
ज्वाला फ्याँक्छ, ज्वाला... ।
यो शरीरमा उज्यालो छैन कहाँ भनेको हुँ र !
छैन भन्न खोजेको होइन वोधिवृक्षको छहारी
छ; मन पगाल्ने मुटु,
सन्त्रास बगाउने आँसु,
शीतलता फैलाउने सास ।
म मान्छे फालेर मान्छे बनाउने अभ्यासमा छु
मान्छे च्यातेर मान्छे जोड्ने प्रयासमा छु
भङ्ग गर्ने कोसिस नगर मेरो एकाग्रता
म शान्तिको आविष्कार गर्ने सुरमा छु ।
०००
(नोट : कलाकार मन्जुल मितेरीद्वारा निर्मित मूर्तिको अवलोकनपछि प्रस्फुटन भएको कविता ।)