आमा
कहिलेसम्म चुपचाप सहिरहन्छौ व्यथा
भोगिरहन्छ्यौ दुःख, पर्खिरहन्छ्यौ उधारो सपना ?
म दिन चाहन्छु
स्वर्णिम बिहानीले धपक्कै जगमगाउँदो संसार
तर, बोल्नुपर्छ तिमीले समयको भाका
भन्नुपर्छ इतिहासले भोगेको कथा ।
हेर्न चाहन्नँ
तिम्रो शीतल छातीमा सल्किएको आगो
सृष्टिगर्भबाट तुहिएको सफलता ।
शताब्दीयौं भइसक्यो
तिमी मौन बसेर सगरमाथा रोएको ।
पुछेर आँसु उठ्नुपर्छ
फाटेका मन सिलाउन
भत्काएर पीडा जाग्नुपर्छ
चाहना छोपेर बसेको बादल हटाउन ।
सफा आकाशमा हावाले सुसेले जसरी
ढुक्ढुकीमा भरिदिउँला सङ्गीत
स्वतन्त्र उडिहिँड्ने चराले झैँ
स्वर मिलाई गाउनू
सबैको गीत ।
०००