आधा उमेर नपुग्दै लाग्न थाल्यो
जीवन पूरै बाँचिसकँ
भोग्नुपर्ने दुःख सबै भोगिसकेँ
गर्नुपर्ने काम सबै गरिसकेँ ।
आकाशले तारा खसालेर
भूइँमा नझारेको दृश्य
मेरै घरको झ्यालबाट हेरेको छु
बिहानीले उज्यालो चुहाएर
चुम्न नपाई फूलका थुङ्गाहरू
हुस्सु भित्रभित्रै गुटमुटिएर हराउँदा पनि सहेको छु ।
खै कहाँ भेटियो र !
हिँड्नुपर्ने नयाँ बाटो ?
बाँच्नकै लागि त अब
फेरि जन्मनु पो पर्छ क्यार !
०००