मुलायम घामको खोज गर्ने सुरमा थिएँ
गौंथलीहरू फुर्र - फुर्र उड्दै आए
र मेरो घरको दलिनमा बसे ।
तिनीहरू
कौसीमा बसेर गीत गुनगुनाउँथे
बगैँचामा गएर लुकामारी खेल्थे
छिनमै प्रेमालाप गर्दै रमाउथे
छिनमै भै-झगडा गर्दै कराउँथे ।
म ढुकुटी उघाएर आँगनमा छरिदिन्थेँ ,
छोडेर फूलको थुङ्गा
नाच्दै भोक साट्न थाल्थे ।
तिनीहरूले
संसार चहारेर भरोसाका डल्लाहरू
चुच्चामा च्यापी ल्याए
खजमजिएको भावना कुँदेर
सुरक्षित गुँड बनाइ, सिङ्गार्न थाले ।
आगो निभेको चुल्हामा न्यानो पसेझैँ
उदास अनुहारमा सुनौलो बिहानीले छोपेझैँ
लाग्न थाल्यो, मैले खोज्न लागेको उज्यालो भेट्टाएँ ।
जब उनीहरू
घाँटी फुलाई-फुलाई ठुँगाठुँग गर्थे
कविताका हाँगाहरू भाचिन्थे
जब आपसमा पखेटा फिजाउँदै
चुच्चामा चुच्चो मिलाई कुराकानी गर्थे
लटरम्मै बिम्ब र प्रतीकहरू फल्दथे ।
उनीहरूले खसाएका रेशमी कलरव टिपेर
म शब्दका बिस्कुन फिजाउथेँ ।
अचानक खै ! कसले हो कुन्नि ?
गौँथलीको गुँडमा सल्काइदिएछ आगो ।
०००