बतासले धकेल्दै लगेको
बैसालु बादलजस्तो चञ्चलतालाई
समातेर पोल्टामा राख्न नसकिदो रहेछ ।
किनारालाई सुम्सुम्याउँदै
सागरको सङ्गीत सुन्न हिँडेको जोवनलाई
आँखाको तलाउमा जमाउन नजानिदो रहेछ ।
गुलाफ सजाएर गालामा
नजर हिँड्ने बाटाभरि बुकीफूल छर्दै
छातीमा लालीगुँरास बोकेर
तन्नेरी गल्लीमा डुलिहिँडेको
अहिले भर्खरै हो कि जस्तो लाग्छ ।
पानी बगेर मुहान कहिल्यै नरित्तिएझैँ
रित्तिदैन जस्तो लाग्थ्यो यौवन
हावा उडेर समय कहिल्यै नसकिएझैँ
सकिदैन जस्तो लाग्थ्यो जीवन ।
मैले सोचेकै कहाँ थिएँ र !
ती क्षणहरू अतीत बनेर
सम्झनामा अल्झिबस्छ उमेर ।
०००