भो नफकाऊ मलाई अब
भावनाका कुनै प्रलोभनले
धेरै भोगिसकें
यस्ता प्रपञ्च मैले यहाँ
सबै निहुँले
केवल प्रभुत्व चाहन्छौ तिमी
ममाथि ।
अघाएन कहिल्यै
तिम्रो यो लोभ स्वामित्वको ।
पल्टाएर हेर
कला, साहित्य र इतिहासका पाना
ती तिम्रा मनपरीका खेलबाड मसित
म क्रमश:
विवश
खण्डित
र विभाजित हुँदै गएँ
तिम्रो सम्पर्कमा ।
मेरो पूर्ण रूप
तिमीले देख्नै पाएनौ
चाहेनौ पनि क्यार हेर्न ।
तिम्रो अहमले स्वीकार्न सकेन कहिल्यै
मेरो स्वतन्त्र व्यक्तित्व
तिम्रो लागि
म केवल तिम्रो जीवन सार्थक बनाउन आएकी थिएँ
मेरो अस्तित्वको
आफ्नो कुनै उद्देश्य थिएन ।
म सुन्दर, कोमल
निर्धा, असहाय
तिम्रो संरक्षणबिना बाँच्न नसक्ने
अबला नारी ठहरिएँ ।
तिमीले जे चाह्यौ
सो देख्यौ, सोही खोज्यौ ममा
बाँधेर राख्यौ तिमीले मलाई सदा
मूल्य, मान्यताका अनेकन् बन्धनले ।
तिमी डराउँथ्यौ क्यार
मलाई मुक्त गर्न !
र आज मलाई दासत्व दिँदादिँदै
तिमी स्वयं कमारा भएका छौ
सहस्र कमजोरीका
र म तिम्रो सबैभन्दा बलियो कमजोरी !
सम्बन्धलाई समर्पणको जामा पहिराउने
हे निर्धो पुरुष !
नमाग यस्ता बलिदान मबाट अब
व्यक्तित्वको मृत्यु
जीवहत्याजस्तै पाप हो
र सोही अपराध तिमीले गरेका छौ ।
आज आफ्नै सोचाइको विकृतिबाट कुण्ठित
हे अधुरो पुरुष !
तिमी मलाई तृप्ति दिन पनि असमर्थ भएका छौ
मेरो मन
शरीर र संरक्षणबाहेक
अरू धेरै कुरा खोज्छ तिमीमा ।
खोइ पुरुष यहाँ
जसलाई पाएर
जोसँग म सम्पूर्ण हुन सकूँ !
खोइ पुरुष यहाँ ?
जसलाई चाहेर
जोबाट म मुक्त बाँच्न सकूँ ।
म 'म' हुन सकूँ
प्रतीक्षा केवल प्रतीक्षा
आदिकालदेखि
के अनन्तसम्म ?