तिमी छौ
र पो यो घर छ
तिमी नहुँदा कहाँ रहन्छ र घर!
जब बलेँसी काटेर
आँगन टेक्छौ
घर पनि तिमी सँगै निस्किन्छ
जति पाइला हिँड्छौ तिमी
त्यति नै पर पुग्छ घर पनि ।
तिमी नहुँदा,
साँझमा बज्दैन
पूजा कोठामा घण्टी
बल्दैन आँगनको तुलसी मठमा दियो
रित्तो बन्छ भान्सा घर पनि
बल्दैन चुल्होमा आगो
छट्पटाउदै भोकले सिलिङको ध्वाँसो हेर्न थाल्छ
कटकटिएका भाडाहरू जुठेनोमा
तिम्रै हात पर्खिएर उदास बन्छ
बैठक कोठाको रिमोट बाट
झुल्किँदैन दृश्य आँखामा एकै छिन पनि
ननिदाएर ओच्छयान पनि
तिमी तिरै आँखा ओच्छयाइ रहेको हुन्छ
सपनाहरू सपना रहँदैनन्
आत्महत्या गर्छन् सिरानीमा हरेक रात
तिमी नहुँदा कहाँ हुन्छ र घर,
घर जस्तै!
जहाँ जान्छौ
तिमी सँगै निस्किन्छ घर।
तिमी नहुँदा,
खोर भित्रै थुनिन्छन् बस्तुभाउ र पक्षीहरू
बिहानीको उन्मुक्ति र
बेलुकीको अपनत्व बाट टाढा पुग्छन् उनीहरू
साँझमा कुँडो पाक्दैन फोसीमा
रित्तो बन्छ टाट्नो पनि
बगैँचामा फूल फुलिरहन्छ
झर्छ ओइलिएर भुईँमा,
टिप्ने हात हुँदैन
बज्दैन भजन साँझ/बिहान
सुनिँदैन चुराको सङ्गीत
रातो सिन्दूरको अपनत्व बिझाउँछ
हरेक समय र क्षणहरूमा
गुड्दा/ गुड्दैको साइकल बाट
ओरालोमा अचानक चेन फुस्किए पछि
जस्तो हुन्छ साइकल
ठिक्क, त्यस्तै भएको छ
तिमी नहुँदा
बेलगाम बतासिएको छ घर पनि ।
०००